Wednesday, 27 March 2019

घरेलु भूमिमा आयोजकको शान


हेटौंडा, चैत १४ । उद्घाटन खेलमा बिहीबार काठमाडौंको मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोेलअन्तरले पराजित गर्दै सफलताको पहिलो पाइला चालेको घरेलु टोली मकवानपुर–११ ले बुधबार नेपालको चर्चित ‘ए’ डिभिजन विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको छ । सेमिफाइनल जितेको मकवानपुरले कम्तिमा ४ लाख पुरस्कार आफ्नो पोल्टामा पारेको छ भने थप ४ लाख पुरस्कारका लागि गोल्डकप जित्नु पर्नेछ ।

दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति ‘मकवानपुर गोल्डकप’ मा आयोजकले पुलिसलाई १–० को झिनो अन्तरले हराए पनि आफ्नो शान गर्विलो बनाएको छ । मच्छिन्द्रलाई पराजित गरेपछि मकवानपुर–११ ले सेमिफाइनलमा प्रवेश पाएको थियो । अब आयोजकले फाइनलमा थ्री स्टार क्लब र क्यामरुनी टोली दाफिन्सबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा जारी प्रतियोगितामा मकवानपुरको जितमा रेजिन सुब्बाले ७८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दश हजार रुपियाँ प्राप्त गरे ।

मकवानपुरको जितमा गोलरक्षक तथा कप्तान अशोक बरालको भूमिका महत्वपूर्ण रह्यो । उनले खेलभर पुलिसका आधा दर्जनभन्दा बढी प्रहार बचाएका थिए । जितसँगै प्रतिक्रिया दि“दै मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीले शत्प्रतिशत दिएर खेल्दा जित सम्भव भएको बताए । उनले पुलिसका दुई वटा खेले हेरेर आफूले रणनीति तयार गर्न पाएको र फलस्वरुप जित निकाल्न सजिलो भएको बताए । श्रेष्ठले फाइनलमा रणनीति परिवर्तन गरेर खेल्ने र उपाधिमा नाम लेखाउने आफ्नो रणनीति हुने स्पष्ट पारे । डिफेन्डर घाइते हुँदा खेलमा केही समस्या भएको प्रशिक्षक श्रेष्ठले बताए । कप्तान अशोक बरालले आफ्नो र टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिँदै प्रतियोगिता च्याम्पियन भएर घरेलु समर्थकलाई उपाधि उपहार दिने योजना रहेको बताए ।

पुलिका प्रशिक्षक अनन्तराज थापाले खेलाडीको खेलबाट आफू सन्तुष्ट रहेको बताए । केही खेलाडी टिममा नभएको कारण पछिल्ला प्रतियोगितामा पुलिसको स्कोरिङमा समस्या भएको र भर्खरमात्र राष्ट्रिय टोलीबाट फर्केका खेलाडीलाई मैदानमा उतार्दा टिममा तालमेल अभाव भएको भन्दै उनले  खेलभर पाएको मौका सदुपयोग गर्न नसकेको र विपक्षीले पाएको मौका सदुपयोग गर्दा पराजित भएको बताए । विहीबार दोस्रो सेमिफाइनल थ्री स्टार क्लब र दाफिन्स क्लबबीच हुनेछ ।

No comments:

Post a Comment

loading...