Sunday, 31 March 2019

राजधानीबारे प्रक्रिया सुरु


हेटौंडा चैत १८ । पुस १२ गतेबाट दोस्रो अधिवेशन अन्त्य भए पनि त्यसको ९३ दिनपछि प्रदेशसभाको तेस्रो (हिउँदे) अधिवेशन आइतबार हेटौंडामा शुरु भएको छ । हेटौंडामा शुरु प्रदेश–३ सभाको हिउँदे अधिवेशनमा छलफलका लागि प्रदेश सचिवालयमा ३ वटा संशोधन विधेयक सहित ७ वटा विधेयक दर्ता भएका छन् । प्रदेशसभा बैठकमा यसअघि मन्त्रिपरिषद् बैठकले पारित गरेका विषयहरु पेस भए । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनको शुभकामना व्यक्त गर्दै मुख्यन्याधीवक्ताको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेशभित्रका राष्ट्रिय बन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि समितिमा पठाएका छन् । उनले नै प्रदेशमा औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि समितिमा पठाए । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरे । उनले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐनलाई
संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कर तथा गैरकर राजस्व सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरे । सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गरे । प्रदेशसभा बैठक लामो समयपछि बसेकाले बैठकमा प्रदेशसभाका अधिकांश सदस्यको उपस्थिति थियो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक सोमबारसम्मका लागि स्थगित गरेका छन् । प्रदेशसभा बैठकमा राजधानीको विषयले बल्ल प्रवेश पाएको छ । प्रदेशसभा गठनको एक वर्ष नाघिसक्दा पनि राजधानीको विषयले प्रवेश नपाउँदा सरकार र सांसद्को आलोचना भइरहेको बेला राजधानीको विषयले प्रवेश पाएको हो । सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने कार्यविधि सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको परामर्श पढेर सुनाएका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलसमेत सहभागी कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले कार्यविधि तयार गरी प्रक्रिया अघि बढाउने सहमति गरेको हो । प्रदेशसभा नियमावलीअनुसार कार्यविधि तोक्ने अधिकार सभामुखलाई छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले हिउँदे अधिवेशन टुङ्गिनुअघि राजधानीको विषय पनि टुङ्गिने दाबी गरे । प्रदेशसभा बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश नपाए संसद् अवरुद्ध गर्ने प्रतिपक्ष काँग्रेसको चेतावनीपछि यसबारेको विषयले संसद्मा पहिलोपटक प्रवेश पाएको हो । राजधानीको विषय टुङ्गो लगाएपछि मात्र काम गर्न सहज हुने सांसद्हरु बताउ“छन् । यसअघि वर्षे अधिवेशनमा राजधानीको विषय टुङ्गो लगाउने भनिए पनि त्यसो हुन सकेन । शुरु हिउँदे अधिवेशनमा यसबारे टुङ्गो लगाउने विश्वास लिइएको छ ।   
   
राजधानी तोक्ने प्रक्रिया शुरु नगरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसद्मा असन्तुष्टि बढेको थियो । राजधानीकै मुद्धाका कारण प्रदेशसभा बैठक बस्न सकेको थिएन ।  मुख्यमन्त्री डोरमणि पौडेलले सद्भाव र सहमतिबाट प्रदेश राजधानीको विषय टुंगो लगाउनुपर्ने बताएका छन् । प्रदेशसभामा सुरु हिउँदे अधिवेशनको शुभकामना दि“दै उनले सत्तापक्ष र प्रतिपक्षको सहमतिबाट राजधानीको विषय टुङ्ग्याउनुपर्ने बताए । राजधानीको स्थायित्व नटुंगिँदा काम गर्न समस्या भएको बताउँदै उनले भने–राजधानीको विषयलाई लिएर अलग हुनुहुन्न । सबै मिलेर सहमतिबाट टुङ्गो लगाउनुपर्छ । राजधानी तोक्ने प्रदेशसभाको विषय भएकाले छलफलबाट अगाडि बढ्नुपर्ने उनले बताए । प्रदेशसभाले धेरै विधेयक पास गर्ने काम गरेको मुख्यमन्त्री पौडेलले बताए । उनले राजधानीको विषयमा धेरै चर्चापरिचर्चा भएकोले यसलाई सबै मिलेर प्रदेशसभाबाट छिटै टुङ्ग्याउन सरकार तयार रहेको बताए ।

प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेश राजधानीको विषय, विधि, प्रक्रियाबाट टुङ्गो लगाउन माग गरे । राजधानीको विषयमा सत्तापक्ष र प्रतिपक्षका रुपमा आफूहरु नभएको उनले स्पष्ट पारे । प्रदेशसभा बैठकमा उनले दुई तिहाईको सरकारले स्थायी राजधानीको विषय छिटो टुङ्गो लगाउनुपर्ने बताए । समृद्ध नेपालको नारामात्र होइन, व्यवहारमा देखाउनु पर्ने उनको भनाइ छ । राजधानीबारे निर्णय गर्न नसक्दा सुरक्षा निकायका प्रदेशस्तर हेडक्वार्टर कहाँ रहने भन्ने समस्या भइरहेको उनले गुनासो गरे ।

नेमकिपा सांसद् सुरेन्द्रराज गोसाईंले प्रदेशसभा कुम्भकर्णझैं निदाएर बसेको आरोप लगाए । लामो समयसम्म प्रदेशसभा बैठक बस्न नसकेको प्रसंग कोट्याउँदै उनले संघीयताको बिकेन्द्रिकरण सिद्धान्तअनुसार काठमाडौं उपत्यका भन्दा टाढा राजधानी राखिनुपर्ने बताए । राप्रपा नेपालकी सांसद् रिता माझीले पार्टी भन्दा माथि उठेर अब काम गर्ने शक्ति मिल्नुपर्ने बताइन् । राप्रपा संयुक्तकी सांसद् रिना गुरुङले प्रदेश–३ अन्य प्रदेशको तुलनामा सबै काममा पछाडि परेको आरोप लगाउँदा प्रेमबहादुर तामाङले प्रदेशसभा उल्टो गतिमा अगाडि बढेको आरोप लगाए ।

No comments:

Post a Comment

loading...