Wednesday, 1 August 2018

मयुरधाप औद्योगिक क्षेत्रका लागि आशयपत्र माग

News
सांकेतिक फोटो
हेटौंडा, साउन १७ । हेटौंडा उपमहानगरपालिका-१३ र १४ मा अवस्थित नेपाल सरकारद्वारा घोषणा गरिएको मयुरधाप औद्योगिक क्षेत्रभित्र केकस्ता उद्योग स्थापना गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्वन्धित उद्योग/उद्यमीबाट आशयपत्र माग गरिएको छ । मयुरधाप औद्योगिक क्षेत्रमा आफूले गर्न चाहने उद्योगको विवरण एवम् उक्त स्थानमा केकस्ता उद्योग प्रवद्र्धन गर्न सकिन्छ भन्ने आशयपत्र तोकिएको ढा“चामा समयभित्र बुझाउन सम्बन्धितका  लागि सूचना प्रकाशन गरिएको हो । असार २० गते यसबारे सार्वजनिक सूचना प्रकाशन गरी साउन १७ गतेभित्र आशयपत्र दिन आग्रह गरिएको हो । हाल हेटौंडा सहित १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् ।

सरकारले ५ वर्षभित्र १७ औद्योगिक क्षेत्र बनाउने भएको हो । सातै प्रदेशमा उद्योग विकास गर्ने उद्धेश्यले थप औद्योगिक क्षेत्र बनाउने तयारी सरकारले गरेको हो । उद्योग मन्त्रालयले तयार पारेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुसार ५ वर्ष अवधिमा प्रदेश नम्बर–३ मा २ वटा औद्योगिक क्षेत्र निर्माण गरिनेछ । ५ वर्षमा हेटौंडाको मयुरधापमा औद्योगिक क्षेत्र सञ्चालनमा आइसक्नेछ । हेटौंडाको अध्ययन प्रतिवेदन तयार भइसकेको छ । वातावरण प्रभाव मूल्यांकन तयार गरी निजी क्षेत्रसमेतको सहभागितामा पूर्वाधारसहित औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको छ ।

पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा १६ नम्बर वडा र दक्षिणमा उत्तरपानी पर्ने चार किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो । वर्षौं अगाडि त्यही जमिन भएर चुरेको खहरे बग्ने गरेको थियो । हाल धार बदलेर खहरे अन्यत्रबाट बगेकाले उक्त जमिन सुरक्षित रहेको हो । बुट्यानले ढाकेको उक्त जमिनमा ठूला रुख छैनन् । खाली रहेको उक्त जग्गा समथर छ । राजमार्गसँग जोड्न सडक पु-याउन समस्या नहुने र बिजुली पनि सहज ढंगले पु-याउन सकिने भएकाले औद्योगिक क्षेत्र स्थापना गर्न उपयुक्त थलो रहेको हो । अनुत्पादक जग्गा उपयोगमा आउने र औद्योगिक क्षेत्रलाई आवश्यक पूर्वाधारहरु उक्त स्थानमा निर्माण गर्न सहज छ । हेटौंडा औद्योगिक क्षेत्रनजिक रहेकाले पनि उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न सहज भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवन्धक नेपालभूषण वैद्यले भने । सरकारले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न लागेकाले यस क्षेत्रका बासिन्दा हर्षित छन् । उद्योग स्थापनापछि वरिपरिका बस्ती चुरियामाई र पदमपोखरीको विकास हुनुको साथै स्थानीयले सहजढंगले रोजगारी पाउने आश लिएका छन् ।

अमेरिकी सरकारको सहयोगमा २०२० सालमा २ सय १२ बिघा जमिनमा हेटौंडा औद्योगिक क्षेत्र स्थापना गरिएको थियो । हाल हेटौंडा औद्योगिक क्षेत्रनजिक २ सय १० बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो । मयुरधापमा स्थापना हुने औद्योगिक क्षेत्रले हेटौंडाको महत्व अझ बढाउने मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष/ महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले बतााए । ‘उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न यहाँका उद्योगी र व्यवसायीले सहयोग गर्नेछन्,’ उनले भने । सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक/एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको हो । नयाँ औद्योगिक क्षेत्र स्थापनापछि करिब ३० हजारले रोजगारी पाउने बताइएको छ । ‘औद्योगिकीकरणबिना मुलुक समृद्ध हुन सक्दैन,’ न्यौपानेले भने-औद्योगिक क्षेत्रको विस्तार नै औद्योगिकीकरणको सुरुवात हो ।
   
‘औद्योगिक गतिविधिका माध्यमबाट स्थानीयस्तरमा सन्तुलित आर्थिक विकास गर्ने तथा स्थानीय स्रोत, साधन र सीपलाई उद्योगधन्दा  तर्फ प्रवाहित गर्न सकिन्छ,’ केन्द्रीय सदस्य न्यौपानेले उद्योगमा सरकारले बिजुली, पानी, मोटरबाटो, शौचालय, बाल गृहजस्ता अत्यावश्यक सेवा सहुलियतरुपमा उपलब्ध गराउनुपर्ने बताए । औद्योगिक क्षेत्रका उद्योगको रेखदेख, नियन्त्रण र मर्मतसम्भारको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लिएको छ । सबै क्षेत्रमा समानुपातिकरुपमा औद्योगिक क्षेत्र विकासले रोजगारी वृद्धि गर्ने, उत्पादन बढाउने र देशलाई औद्योगिकीकरणको दिशातर्फ लैजाने तयारीसाथ हेटौंडामा नयाँ औद्योगिक क्षेत्र स्थापना थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रवन्धक नन्दकिशोर बस्नेत बताउँछन् । सरकारले हेटौंडा कपडा उद्योगको जमिनमा पनि नयाँ औद्योगिक क्षेत्र विस्तार गरेको छ ।

No comments:

Post a Comment

loading...