News
हेटौंडा, साउन २२ । टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि हेटौंडामा अवरुद्ध गरिएको कान्ति लोकपथ प्रहरीले बल प्रयोग गरी खोलेको छ । हेटौंडा–१७, गैरीगाउ“मा आइतबार टिपरको ठक्करबाट स्थानीय एक युवाको ज्यान गएपछि आक्रोशित स्थानीयले अवरुद्ध बनाएको सडक प्रहरीले बल प्रयोग गरी खोलेको हो । पीडित परिवारसहित स्थानीयले आइतबार अवरुद्ध गरेको सडकमा प्रहरीले बल प्रयोग गरेर सोमबार अपराह्न ४ बजे यातायात सुचारु गरेको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ५० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । पीडित परिवारलाई उचित राहत, घाइतेको उपचार, टिपर चालकलाई कारबाही र सडकको क्षमता भन्दा बढी सामान बोक्ने सवारी सञ्चालनमा रोक लगाउनुपर्ने माग गर्दै स्थानीयले आइतबार मध्याह्नदेखि सडक अवरुद्ध गरेका थिए । हेटौंडा बजारबाट गैरीगाउ“तर्फ गइरहेको ना. ७ ख ७२२३ नम्बर टिपरले विपरीत दिशाबाट आइरहेको बा. ४२ प ७०७० नम्बर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक २६ वर्षीय टंक न्यौपानेको मृत्यु भएको थियो । मोटरसाइकलको पछाडि बसेकी उनकी बहिनी सरिता घाइते भएकी छन् । टंकको उपचारका क्रममा हेटौंडामा ज्यान गएको हो । सरिताको भरतपुरमा उपचार जारी छ ।
प्रहरीले टिपर ल्याउनुअघि वार्ता गरेर मृतक परिवारको कुरा सुन्न प्रहरी/प्रशासनलाई आग्रह गर्दा बेवास्ता गर्दै टिपर हेटौंडा ल्याउन खोजेपछि झडप समेत भएको थियो । व्यापक प्रहरी परिचालन गरेर टिपर हेटौंडा ल्याइएको छ । टिपर ल्याउनुअघि वार्ता माग गरेर प्रदर्शन गरेका स्थानीय माथि प्रहरीले १० सेल अश्रुग्यास र लाठी वर्षाएको थियो । क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म आफन्तले शव जिल्मा नलिने बताएका छन् । ‘यहा शव उठ्नुभन्दा टिपर लैजानु प्रहरीका लागि महत्वपूर्ण देखियो,’ स्थानीयले गुनासो पोखे ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरी, हरिशरण थापा र रणबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । घटनाका दोषीलाई कारबाही र पीडितलाई न्याय प्रदान गर्न र सचेत गराउन पुगेका तरुण दल नगर अध्यक्ष गिरीमाथि प्रहरीले यस्तो हर्कत गर्नु लाजमर्दो भएको र तत्काल रिहा नगरे आन्दोलनमा जाने तरुण दल मकवानपुरको चेतावनी छ । घटनामा ३ प्रहरी र ३ स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment