Sunday, 31 March 2019

‘स्वास्थ्य क्षेत्रमा सुधार आउँछ’–डोरमणि पौडेल


हेटौंडा, चैत १८ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याइने बताएका छन् । मुख्यमन्त्री पौडेलले भने–मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रमसँगै हेटौंडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन लागेका छौं । त्यसको विधेयक  प्रदेशसभामा प्रस्तुत हुनेछ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम उद्घाटन गर्दै उनले विपन्न, शहीद परिवार र अपांगता भएका व्यक्तिलाई सेवा दिन कार्यक्रम सुरु गरिएको बताए । समयमा रोग  परीक्षणका लागि उनले आग्रह गरेका छन् । सम्बन्धित वडा कार्यालयबाट सिफारिस हुनुपर्ने भएकोले वडाध्यक्षले दबाबमा भन्दा पनि कार्यक्रममा पर्ने व्यक्तिलाई मात्र सिफारिस गर्न उनले आग्रह गरे ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारलाई कहीं कतै भेटिएन भनेर प्रचार गर्नेहरुका लागि देखिने कार्यक्रम ल्याइएको दाबी गरे । घरमा खाइने खानेकुराका कारण धेरै प्रकारका रोग लाग्नसक्ने भएकाले समयमा सजग हुन मन्त्री ढुंगलेले सुझाए । चुनौतीबीच ५५ लाख नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन कार्यक्रम सुरु गरिएको भन्दै प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले जोखिम मोलेर स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको बताए ।

हाल जिल्ला अस्पतालहरुमा भवन र जनशक्ति अभाव हुँदा पनि निकै चुनौतीबीच  कार्यक्रम थालिएको उनले बताए । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, कृषि, भूमि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, प्रदेशसभा सदस्यत्रय मुनु सिग्देल, रामेश्वर फुँयाल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा, नेकपा मकवानपुरका नेता बद्री लम्साल, विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।

No comments:

Post a Comment

loading...