Tuesday, 19 March 2019

मकवानपुर गुल्जार बनाउँदै सुरुङमार्ग


हेटौंडा, चैत ६ । मानिसको आवागमन र सामान ढुवानीका लागि निकै सहज मानिएको सुरुङमार्गहरुले मकवानपुरको मुहार फेरिने सम्भावना बढेको छ । हेटौंडा–काठमाडौं सुरुङमार्ग र सरकारी प्राथमिकतामा परेको चित्लाङ–थानकोट सुरुङमार्ग निर्माणको आवश्यक प्रक्रिया अघि बढने भएपछि मकवानपुरले निकै सहजता महसुस गर्ने विश्वास लिइएको हो ।

मकवानपुर–२ का सांसद् विरोध खतिवडा, थाहानगर प्रमुख लवशेर बिष्ट, सांसद् रामनारायण बिडारीसहितको टोलीले काठमाडौं पुगेर सम्बन्धित निकायलाई यसबारे घच्घच्याएका छन् । उनीहरुको आग्रहपछि सुरुङमार्ग निर्माण प्रक्रियाका लागि सम्भाव्यता अध्ययन तत्काल थालिने अर्थमन्त्री डा। युवराज खतिवडाले टोलीलाई जानकारी गराएका थिए । उक्त सुरुङमार्ग संघीय सरकारले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरेको हो ।
   
नेपाल सरकारले थाहानगरलाई अघिल्लो आर्थिक वर्ष पर्यटकीय पहिचानसहित शहरको रुपमा घोषणा गरेको थियो । पर्यटकीय आवागमन बृद्धि गर्न चित्लाङ–थानकोट सुरुङमार्गको महत्व बढी छ,’ थाहानगर प्रमुख बिष्टले भने । उक्त सुरुङमार्ग चित्लाङ– थानकोट एकजार छ सय मिटर (१.६ किमी) मात्र हुने अनुमान छ । चालु आर्थिक वर्षको कार्यक्रममा रहेको सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढाउन थाहानगर पालिकाको तर्फबाट पहल थालिएको नगर प्रमुख बिष्टले बताए । बिष्टले नगरको गौरवको योजनाका रुपमा सुरुङमार्गलाई लिइएको भन्दै थाहानगर, काठमाडौंको विस्तारित शहर बन्ने दाबी गरे ।

‘चित्लाङ–थानकोट सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढ्नु उक्त आयोजना निर्माणको शुरुवात हो,’ बिष्टले भने–आयोजना यथाशीघ्र निर्माण गर्न सबैले सहयोग गर्नुपर्छ । सुरुङमार्ग निर्माण पछि थाहा नगरबासीको जीवनस्तरमा आमूल परिवर्तन आउने बिष्टले विश्वास गरे । उनले भने– सकारात्मक परिवर्तन देखिने हुँदा आयोजना सम्पन्न गर्न दिलोज्यान दिएर लाग्नेछु । चित्लाङ– चन्द्रागिरि–थानकोट सडकमार्ग पनि निर्माण भइरहेकोले सडक र सुरुङलाई सँगै विकास गर्नसके विकासका दुई ढोका एकसाथ खुल्ने बिष्टले बताए । सुरुङ र सडक सम्पन्न गर्नसके काठमाडौंको जनसंख्याको चाप न्यूनीकरण हुने तथा थाहानगर र इन्द्रसरोवर गाउ“पालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने नगर प्रमुख बिष्टको भनाइ छ ।
   

पर्यटकका लागि सबभन्दा महत्वपूर्ण कुरा सहज आवागमन नै भएकोले सुरुङमार्ग निर्माण गर्नसके चित्लाङ र आसपास पर्यटन व्यवसायीलाई ठूलो फाइदा मिल्ने होटल व्यवसायी रामशरण नेपालले बताए । उनले भने–सुरुङमार्ग खुले वाह्य पर्यटकको पनि उपस्थिति बढ्नेछ । सुरुङमार्ग निर्माणका लागि संघीय सरकारको नीति तथा कार्यक्रममा आए पनि यसलाई घच्घच्याउन आवश्यक भएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । थाहा र इन्द्रसरोवरका लागि विकासको ढोकाको रुपमा रहेको चित्लाङ–थानकोट सुरुङमार्ग निर्माण थाल्न आफूले केन्द्रमा कुरा गर्दै गरेको बताउँदै अब सामूहिक दबाब सृजना गर्नुपर्ने अध्यक्ष लामाको भनाइ छ । लामाले भने–संयुक्तरुपमा सुरुङ निर्माणका लागि दबाब सुरु गरौं ।
   
उता, नेपाल पूर्वाधार विकास कम्पनीले विशेष साधारणसभा बोलाएर त्यसको निर्णयपछि हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण थाल्ने तयारी गरेको छ । कम्पनी हेटौंडाबाट मकवानपुरको कुलेखानीहुँदै काठमाडौं जोड्ने सुरुङमार्ग बनाउन गठन भएको हो । कम्पनीले चैत ९ गते विशेष साधारणसभा बोलाएको छ । सभाबाट पावर चाइना कम्पनीको लगानी भिœयाएर निर्माण शुरु गर्ने निर्णय गर्न लागिएको हो । नेपाल पूर्वाधार विकास कम्पनी र पावर चाइनाबीच साउन ९ गते संयुक्त विकास सम्झौता भएको थियो ।

नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश–३ सरकारसमक्ष पेश गरिसकेको छ । नेपाल पूर्वाधार विकास कम्पनी २०६८ भदौ २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । कम्पनीले २०६९ जेठ १ गते सरकारस“ग प्रारम्भिक परियोजना सम्झौता गरी अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

No comments:

Post a Comment

loading...