Sunday, 3 March 2019

हेटौंडालाई सुन्दर सहर बनाउन फूलैफूल





सडक छेउमा ४ हजार २ सय बिरुवा

हेटौंडा, फागुन २० । तत्कालिन नगर प्रमुख हाल प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडालाई हरियाली सहरको रुपमा विकास गर्ने योजनासहित बजार क्षेत्रमा अशोकको विरुवा र सडक छेउमा फूलका विरुवा रोप्ने अभियान सुरु गरेका थिए ।  २० वर्षपछि नयाँ जनप्रतिनिधि पाएको हेटौंडाले फेरि आफ्नो पहिचान थप परिस्कृत गर्ने कोशिस गर्दैछ । नगर प्रमुख हरिबहादुर महतले उपमहानगरपालिकाबाट करोड बढी बजेट नै छुट्याएर हेटौंडाको हरेक सडक छेउछाउमा फूल र फलफूलका विरुवा रोप्ने घोषणा गरेर अहिले त्यो अभियानलाई तीब्रता दिइरहेका छन् ।

‘फराकिलो सडकको बिच भागमा डिभाइडर र साँघुरो सडक छेउमा ‘नयाँ स्पेस’ बनाएर फूलका विरुवा रोपिरहेका छौं’ मेयर महतले भने यो ‘अभियान निरन्तर अघि बढिरहने छ ।’ उनले सुरुवातमा सडक साँघुरो बनाउन मेयरले नचाहिने काम गरेको भन्दै आलोचना र विरोध आएपनि अहिले सडक सफा र सुन्दर देखिन थालेपछि प्रशंसा हुन थालेको बताए । उपमहानगरपालिकाले मुख्य बजार र आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटीसँगै दायाँबायाँ फूल र फलफूल रोप्ने अभियान निर्वाचित हुनासाथ सुरु गरेको मेयर महतले दाबी गरे । करिब दुई वर्षमा कान्तिराजपथ सँगै नगरपालिका रोडको दक्षिण तर्फको कार्यालय अगाडिदेखि मकवानपुर क्याम्पस सडकमा पनि बिभिन्न प्रजातिका फूलहरु ढकमक्क देखिन थालिसकेको महतले बताए । आफू निर्वाचित भएर आएपछी बजार क्षेत्र र आसपास क्षेत्रका ११ वटा मुख्य सडकमा फूल र फलफूलका बिरुवाहरु रोपिएको उनले जानकारी दिए । २० वर्षअघि आफू उपमेयर हु“दा दुई कार्यकालमा मुख्य सडकमा अशोकका विरुवा रोपेर हरियाली सहरको पहिचान बनेको उनको भनाइ छ ।

सडक फराकिलो बनाउने, नाली र फुटपाथ बनाउने कामसँगै अहिले हेटौंडा–२ मानसचोकदेखि मकवानपुर क्याम्पससम्म, सानोपोखरा चोकदेखि पिप्ले चोकसम्मका दुबै तर्फको पेटी, स्कुल रोड चोकदेखि भैरव रोड चोकसम्मका दुबै पेटीमा, पारिजात पथको चोकदेखि कबर्ड हलसम्मको दुबै तर्फका पेटी, पिपल बोटदेखि संगम चोकसम्मको दुबै तर्फको पेटी, भैरबरोड कान्तिराजपथ चोकदेखि जोशी नर्सरी जाने चोकसम्मका दुबैतर्फ, देबीहल रोडको दुबै तर्फको सडक पेटी, माछा प्लानको क्षेत्रमा मानब सेवा आश्रमको क्षेत्रमा सडक फराकिलो बनाउने काम भइरहेको २७ प्रजातिका बिरुवाहरु रोपीएको मेयर महतले जानकारी दिए । फराकिलो बनाइ सकिएको सडकमा ४ हजार २ सय ५६ विरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ । करिब दुई बर्षको अबधिमा ४ हजार २ सय ५६ जातका बिरुवा रोपिएको बताउँदै मेयर महतले भने म धेरै देश घुमे हेरे त्यहाँका कुनैपनि सहरको सुन्दरता भनेको फराकिलो सडक संगै त्यसका वरपर फूलैफूलको सुन्दरता देखें त्यसपछी हेटौंडालाई पनि विकशित सहरको रुपमा किन विकास नगर्ने भनेर फूल र फलफूल रोप्न सुरु गरेको हुँ ।

हेटौंडाका सडक पेटीमा मौसमी फुलका बिरुवाहरु १ हजार ६ सय ५६, बेमौसमी फूलहरु २ हजार २५ बोट, अन्य ५ सय ७५ फलफूलका बिरुवाहरु रोपिएको छ । उपमहानगरपालिकाले रंगीन बिरुवा १ सय ५०, असारे १६ वटा, मुसुण्डा १ सय २९, करबीर ९९ वटा, कल्लि १ सय १८, बेगमबेली १ सय २५, अशोक २०, समिका २१, अलमण्डका ५०, भुईंफूल १ हजार ५०, डालिया २ सय ३० वटा रोपिएको छ ।  त्यसैगरी असर्फि ५०, सयपत्री ३ सय ७६, गमला सेटसहित १०, निलजाइ २ सय २५, कामिनी १ सय, रोजमेरी २, घण्टेफूल ५०, गुलमोहर १ सय ५, क्युफिया ३ सय, रातो पाते ५०, निलकाँडा ३ सस, आँप ५ सय वटा, अमला २, म्याङगो स्टीक ५० वटा बिरुवा रोपिएको जनाइएको छ । रोपिएका सबै बिरुवा हुर्काउन, बढाउन र सुन्दर बनाउनका लागि दिनहुँ पानी हाल्ने, गोडमेल गर्नेलगायत कामहरु गरिँदै आएको छ । समयमा नै पानी हाल्न नसक्दा केही बिरुवाहरु मरेपनि अधिकांश बिरुवा हुर्की सकेको छ ।

No comments:

Post a Comment

loading...