Saturday, 2 March 2019

हेटौंडेली स्टार सर्वोत्कृष्ट खेलाडी


हेटौंडा, फागुन १९ । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले हात पार्दा हेटौंडेली फुटबल स्टार एलन न्यौपाने सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पोखरामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारका गोलकिपर न्यौपानेले सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । १७ औं संस्करणको च्याम्पियन टोली थ्री स्टारका गोलकिपर न्यौपाने सर्वोकृष्ट खेलाडी चुनिँदै एक थान स्कुटर प्राप्त गरेका छन् ।

थ्री स्टारलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका एलनले आर्मीविरुद्धको फाइनलमा २ पेनाल्टी बचाएका थिए । यस्तै थ्री स्टारका अनिल गुरुङ सर्वाधिक गोलकर्ता चुनिएका छन्  । प्रतियोगितामा ३ गोल गरेका अनिलले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, आर्मीकै सन्तोस तामाङ उत्कृष्ट मिडफिल्डर र आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेन्डर बनेका छन्  । थ्री स्टारका एलन उत्कृष्ट गोलकिपर र मेघराज केसी उत्कृष्ट प्रशिक्षक बने । व्यक्तिगत विधामा उत्कृष्ट बनेकाले समान १५/१५ हजार नगद हात पारे । प्रतियोगिताको फेयर प्ले अवार्ड एपीएफ क्लबले हात पार्यो  ।

आर्मीलाई सडन डेथमा ५ ४ ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को बराबरीमा र अतिरिक्त समयमा दुवै टोलीले १–१ गोल थपेपछि खेल टाइब्रेकरमा पुगेको थियो । आर्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा नै गोल गरेका हुन् । दायाँ विङबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका टेकबहादुरले सहजै हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अन्नत तामाङको क्रसमा दीपक गुरुङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरे पछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रञ्जित धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयको पहिलो हाफमा आर्मीका विमल पाण्डेले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । तर दोस्रो हाफमा पिटर सेगुनले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसअघि खेल १–१ को बराबरीमा छँदा सुनील बल रातो कार्ड खाँदै बाहिरिएका थिए । आर्मीले पनि सूचीमा नभएका आशीष शाक्य मैदान छिराएपछि केहिबेरमा नै निश्कासन गरेको थियो । आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे । आर्मीका विकेश कुथु र विकास खवासको प्रहार एलनले बचाए । थ्री स्टारका रञ्जित धिमाल, रुपेश केसी, विक्रम लामा, अन्नत तामाङ र मिक्छेन तामाङले गोल गर्दा सुशील राईको प्रहार क्रसबारमा लागेर फर्कियो । यो थ्री स्टारको पाँचौ उपाधि हो । आर्मी भने हालसम्म आहा–रारा गोल्डकपमा उपाधिविहिन रहेको छ ।

No comments:

Post a Comment

loading...