Saturday, 23 March 2019

हेटौंडामा कहिलेसम्म बाँसका प्यारापिट ?

फाइल फोटो
 हेटौंडा, चैत १० । जंगल नै जंगलले घेरिएको हेटौंडाको फरेष्ट्रीजंगल । त्यसबीच खेलकुद मैदान, जहाँ दोस्रो संस्करणको सहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी खेलाडी र दर्शक । खेल हेरिरहेका मकवानपुरे खेलप्रेमी दर्शकहरु । कुनै न कुनै आयोजकले वर्षमा एक पटक राष्ट्रिय फुटबल प्रतियोगिता गर्दै आएका छन् त्यहाँ । ती प्रतियोगिता हेटौंडाका जुनसुकै चौरमा गरिए पनि दर्शकलाई नछेकिने गरी मज्जाले फुटबल हेर्न पाउनुपर्ने माग उनीहरुको छ । फरेष्ट्रीचौरमा बाँस र फलामका प्यारापिटमा बसेर कोचाकोच गरी फुटबल हेरिरहेका दर्शकहरु छिटो स्टेडियमसहित रंगशाला बनोस् भन्नेमा छन् ।

फुटबलका सुरुका दिनका म्याचमा दर्शक कम आए पनि सेमिफाइनल र फाइनलमा दर्शकको ओइरो लाग्छ । फुटबलको मज्जा लिन दर्शक मज्जाले उफ्रेर, आफ्नो समर्थन रहेको टोलीको पक्षमा हुटिङ गर्दै हेर्न चाहन्छन् । तर, हेटौंडामा बनेका बाँस र फलामे प्यारापिटमा बसेर त्यो मज्जा लिन नपाइएको दर्शक बताउँछन् । वर्षौं पहिले त यही प्यारापिट पनि हुँदैनथ्यो । पछिल्लो समयमा धेरैभन्दा धेरै दर्शकलाई फुटबल हेर्दा सुविधा दिने भन्दै प्यारापिट बनाइयो । यसले थप सजिलो भएको र फुटबलको मज्जा भने अझ नसकेको हेटौंडा–२ का श्याम बजगाईं बताउँछन् । हेटौंडामा फुटबल खेल्नसक्ने चौर धेरै छन् । तर, फुटबल हेर्न समस्या रहेको बाँसको प्यारापिटमा बसेर फुटबल हेरिरहेका हेटौंडा–४ को हुप्रचौरका दर्शक श्याम घिमिरे बताउँछन् ।
   
फुटबलको राष्ट्रिय खेल हुँदा सानो भए पनि रंगशाला बनाउने कुरा उठ्छ । तर, पछि त्यसपछि सेलाएर जाने समस्या पनि छ । हुप्रचौरमा दर्शकलाई खेल हेर्न सक्ने गरी र सानो भए पनि रंगशाला बनाउने चर्चा सुरु भएको छ । यसमा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब हुप्रचौरमा स्टेडियमसहित रंगशाला बनाउने काम सुरु हुनै लागेको उद्घाटन समारोहमा बताए । जुन कुरा विवादमा पनि आएको छ । हेटौंडामा फुटबल खेल्न सकिने गरी फरेष्ट्री चौरसहित क्याम्पाडाँडा चौर, गौरीटार रंगशाला, हुप्रचौर, औद्योगिक क्षेत्रको खेलमैदान पनि छन् । यी खेल मैदानमध्ये गौरीटार रंगशालामा संघीय सरकारको लगानीमा काम भइरहेको छ । प्रदेश सरकारले अब हुप्रचौरमा लगानी गरेर काम गर्न लागेको हो ।  तर, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भनेजस्तो बिकट गाउँमा सडक पुर्याउन लाग्दा पहिले त्यस क्षेत्रका भरियाले हामीहरुले भारी बोक्न नपाएर रोजीरोटी गुम्छ भनेर आन्दोलन गरेको स्मरण सुनाइरहे ।
   
हुप्रचौरमा सानो भए पनि रंगशाला बनाएर फुटबल हेर्न मिल्ने गरी बनाउने भनेर प्रदेश सरकारले रकम छुट्याउने भन्दा हुप्रचौर वरपरका वासिन्दा यसलाई खुला चौर बनाउनुपर्छ भनेर दबाब दिइरहेका छन् । हुप्रचौर खुला राख्नुपर्छ, कुनै भौतिक संरचना निर्माण गर्न दिनुहुन्न भन्ने निर्णयसाथ प्रदेश सरकार र स्थानीय सरकारमा डेलिगेशन जाने कुरा पारित गर्दै हुप्रचौर सरोकार समितिको बैठक शनिबार भएको छ । ‘प्यारापिटसहित मैदान अनावश्यक होइन । यो पनि आवश्यक हो । यसका लागि वैकल्पिक स्थान खोजिनुपर्छ । टीसीएनको मैदान एउटा विकल्प हुनसक्छ वा क्याम्पाचौर नै पनि उपयुक्त छ,’ स्थानीय भन्छन् । हुप्रचौरको अधिक दोहन भइसकेको छ । यसको महत्व २०७२ को भुकम्पमा आश्रय लिने वडाबासीले अझै बढी बुझेका थिए । बालबालिका तथा युवाको खेलमैदान देखि साँझबिहान ज्येष्ठ नागरिकको चियाचौतारो पनि यही मैदान हो ।

No comments:

Post a Comment

loading...