हेटौंडा, फागुन १८ । मंगलबारदेखि बिहीबारसम्म लगातारको वर्षाका कारण हेटौंडा क्षेत्रका तीन ईंट्टा भट्टामा झण्डै दुई करोड बराबरको ईंट्टा नष्ट भएको छ । सुक्खायाम फागुनमा वर्षाले मकवानपुरका ईंट्टा व्यवसायी मारमा परेका छन् । लाखौं लगानीमा सञ्चालित उद्योगबाट उत्पादन हुने तयारीमा रहेका सामग्रीमा प्राकृतिक विपत्का कारण क्षति भएपछि आफूहरु मारमा परेका सञ्चालकहरुले बताएका छन् ।
वर्षाले काँचो ईंट्टा गलेर नष्ट भएका हुन् । एक महिनादेखि पकाउन ठिक्क पारिएका ईंट्टा वर्षाको पानीले गलेपछि त्यहाँबाट हटाउनसमेत झन्झट भएको हेटौंडा–१८, हर्नामाडीका ईंट्टा उद्योग सञ्चालकहरुको भनाइ छ । भट्टामा पोल्न तयारी अवस्थामा राखिएका ईंट्टा पानीले नष्ट गरेपछि व्यवसायीले ठूलो क्षति ब्यहोर्नुपरेको बानियाँ ईंट्टा उद्योगका सञ्चालक रामबाबु बानियाँले बताए । पोल्ने तयारीमा रहेका ईंट्टा पानीले गलाउँदा ईंट्टा भट्टाले करिब ७० लाखसम्मको नोक्सानी ब्यहोर्नुपरेको बानियाँको भनाइ छ ।
काँचो ईंट्टाको बीमा हुने नभएकोले राज्यले व्यवसायीको संरक्षण गर्नु जरुरी रहेको बानियाँको माग छ । मकवानपुरमा ईंट्टा भट्टा तीन वटा छन् । हेटौंडा–१८ कोहर्नामाडीमा बानियाँ ईंट्टा उद्योग, चाइनिज ईंट्टा उद्योग र प्रेमी ईंट्टा उद्योग रहेको बानियाँले बताए । उत्पादन हुने ईंट्टाहरु मकवानपुरसहित चितवन तथा तराईका जिल्लामा पुग्ने गरेका छन् । एउटा ईंट्टातयार पार्न मजदुरलाई कम्तिमा एक रुपियाँ दिइने चाइनिज ईंट्टा उद्योगको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरुबाट महंगो ब्याज दरमा ऋण लिएर उद्योग व्यवसाय गरेका उद्योगी व्यवसायीलाई बेमौसमी वर्षाले ठूलो आर्थिक क्षति पु¥याएको उद्योगीको गुनासो छ ।
बेमौसमी वर्षाका कारण काँचो ईंट्टा गलेर नष्ट भए पनि बजारमा ईंट्टा अभाव हुन नदिन आफूहरु लागिपरेको प्रेमी ईंट्टा उद्योग सञ्चालक उत्तम ज्याक्ख्योले बताए । वर्षाले काम गर्न नसक्दा मजदुरको पारिश्रमिक र समय पनि नोक्सान भएको उनीहरुले बताएका छन् । बेमौसमी पानीले ईंट्टा नोक्सान भएपछि ईंट्टाको आपूर्ति कम हुने र मूल्य वृद्धि हुने देखिएको छ । हाल मकवानपुरमा प्रतिईंट्टा १० देखि १२ रुपियाँसम्ममा कारोबार भइरहेको छ । वर्षाका कारण व्यवसायी समस्यामा परेका कारण यसको वैकल्पिक व्यवस्था खोजी गर्नुपर्ने देखिएको छ । मंसिरदेखि वैशाखसम्म उत्पादन हुने समय भएको र त्यसपछिका ६ महिना वर्षामा उद्योगहरु बन्द रहने गर्दछ ।
हेटौंडामै गुणस्तरीय र्इंट्टा उत्पादन हुन थालेपछि स्थानीयलाई सहज भएको छ । उद्योग स्थापना भएस“गै घर तथा अन्य भवन निर्माण गर्न जिल्ला बाहिरबाट ईट्टा ल्याउनुपर्ने बाध्यता अन्त्य भएको हो । भवन निर्माणसँगै माटोको गुणस्तरीयता अध्ययन गरी स्थापना गरिएका ईंट्टा उद्योगबाट दैनिक पाँच ट्रकसम्म ईंट्टा उत्पादन गर्ने गरिएको छ । उत्पादित ईंट्टालाई विभिन्न स्थानमा पठाउने गरिएको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगबाट गुणस्तरीय र्इंट्टा उत्पादन भएपछि सदरमुकाम क्षेत्रमा निर्माणाधीन घर तथा सरकारी कार्यालय भवनहरुले समेत सोही स्थानबाट र्इंट्टा आयात गर्ने गरेका छन् ।
No comments:
Post a Comment