Wednesday, 13 March 2019

५ अर्ब लगानी, ४ सयलाई रोजगार

सहारा ग्याससँगै सिमेन्ट उद्योग खोल्ने शिव घिमिरेको योजना


हेटौंडा, फागुन ३० । सरकारले लिएको नितीका कारण पछिल्लो समय नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्दैछ । मकवानपुरमा मात्र दुई वटा ठूला सरकारी स्वामित्वको हेटौंडा र निजी क्षेत्रबाट सञ्चालित शिवम् सिमेन्ट उद्योग निरन्तर सञ्चालन भइरहेका छन् भने, रिद्धिसिद्धि उत्पादनको तयारीमा छ । हेटौंडा–३ बसामाडिमा एक दशक अघिदेखि सहारा ग्यास उद्योग सञ्चालन गरिरहेका उद्योगी शिवप्रसाद घिमिरेले सिमेन्ट उद्योग स्थापना गर्ने तयारी सुरु गरेका छन् । हेटौंडाबासी घिमिरेले गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी सुरु गरेको बुझिएको छ । उद्योगी घिमिरेले उद्योग स्थापना गर्ने तयारी अघि बढाएपनि स्थान खुलाइएको छैन ।

घिमिरेले कुल ३७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा कुल पु“जी ४ अर्ब ८९ करोड १७ लाख ९२ हजार ५ सय बराबरको लगानी गर्ने तयारी गरेका छन् । उद्योगले ६ लाख २३ हजार ७ सय मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७ सय ५० जनालाई  रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो । उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ ।

विभागको विवरणअनुसार पछिल्लो दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिएका छन् । कुल पूँजी रु ४० करोड ८० लाख बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो उद्योगले छ हजार मेट्रिक टन पिपिसी र छ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने छ । यस्तै स्याङ्जाको वालिङ–१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएको छ । उद्योगमा कूल पूँजी रु एक अर्ब ५० करोड बराबरको लगानी हुनेछ । सो उद्योगले २५० जनालाई रोजगारी दिनेछ । उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी, एक लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार ९८० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराएको छ । सो उद्योगमा नौ अर्ब ७८ करोड ५८ लाख ९५ हजार बराबरको लगानी गरिनेछ । उद्योगले ३ सय ९९ जनालाई रोजगारी दिनेछ । विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले आठ लाख ३८ हजार २०० मेट्रिक टन ओपिसी र तीन लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । यस्तै हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ । सो उद्योगले रु दुई अर्ब ५७ करोड ८८ लाख २५ हजार बराबरको लगानी गर्नेछ । उद्योगले ५८७ जनालाई रोजगारी दिनेछ । उद्योगबाट छ लाख ६० हजार मेट्रिक टन ओपिसी र १३ हजार २०० मेट्रिक टन क्लिंकर उत्पादन गर्नेछ ।

यस्तै उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज विभागमा दर्ता गराएका छन् । झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ । उद्योगले ५० करोड लगानी गर्ने भएको छ । कुल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । सो उद्योगमा दुई खर्बको लगानी भएको र वार्षिक एक खर्ब ५० अर्बको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउ“दै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।
   
संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन सुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी सुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो ।

No comments:

Post a Comment

loading...