Tuesday, 26 February 2019

भारतको पक्षमा बीरगञ्जमा प्रदर्शन

हेटौंडा, फागुन १५ । भारत र पाकिस्तानको सीमावर्ती क्षेत्र जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको जवाफमा भारतीय वायु सेनाले पाकिस्तानी भूमिमै पसेर आक्रमण गरेकै दिन बीरगञ्जमा प्रदर्शन भएको छ । मधेसी दलका नेता र युवाले भारतको पक्षमा बीरगञ्जमा मंगलबार प्रदर्शन गरेका हुन् । १४ फेबु्रअरी र त्यसयता भारतमा भएको आतंकवादी हमलाको विरोधमा राष्ट्रिय जनता पार्टी ९राजपा० का महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवा संघ र राष्ट्रिय विद्यार्थी संघका कार्यकर्ताले मोटरसाइकल र्याली गरेका हुन् ।

आतंकवादविरुद्ध नेपालका युवा भारतको साथमा रहेको भन्दै राजपाले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद, आतंकवादविरुद्ध भारत हामी तिम्रो साथमा छौं, नेपाल–भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । बीरगञ्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्साअगाडि लालबंगलापरिसरबाट निकालिएको मोटरसाइकल ¥याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वाको परिक्रमापछि पुनः घण्टाघर चोकमा फर्किएर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुने भन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाट समाप्त पार्न आवश्यक
रहेको बताए । महासचिव सिंहले प्रदर्शनले नेपाली युवा आतंकवादको विरोधमा रहेको र आतंकवादविरुद्ध लडाईंमा भारतलाई साथ दिने सन्देश दिएको उल्लेख गरे । र्यालीमा राजपाका नेता प्रेमबाबु पटेल, मदन यादब, राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष सुशील पटेल, राष्ट्रिय विद्यार्थी संघ पर्सा अध्यक्ष मदनसुदन चौरसियालगायत सहभागी थिए ।

छिमेकी मुलुकहरु भारत र पाकिस्तानबीच युद्धको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार विहान ३ बजे पाकिस्तान नियन्त्रित काश्मिरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतीय मिराज–२००० लडाकु विमानले पाकिस्तान नियन्त्रित काश्मिरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको थियो । भारत–पाकिस्तानबीच काश्मिरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

नेपाल–भारत खुला सिमाना रहेका कारण हुनसक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई मध्यनजर गर्दै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीले दिएको छ । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रिय उडान हुने एकमात्र त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो । यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको छ ।    भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतबार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास भएपछि नेपालमा पनि सतर्कता बढाइएको हो ।

अपहरणप्रयास भएपछि १ सय ४२ यात्रु सवार विमानलाई चित्तगंगमा आपत्कालीन अवतरण गराइएको थियो । विमान अवतरण गरिएपछि कक्पिटभित्र प्रवेश गर्न खोज्ने एक २५ वर्षीय युवकलाई गिरफ्तार गरिएको बंगलादेश प्रहरीले जनाएको छ । यसअघि काश्मिरको पुलवामामा आक्रमणमा संलग्न भनिएको जैस ए मोहम्मदका संस्थापक मसहुद अजहरलाई छुटाउन सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन विमानस्थलबाट एयर इण्डियाको जहाज अपहरण गरी अफ्गानिस्तान लगिएको थियो । उडान नम्बर ८१४ इण्डियन एयरलायन्स एयरबस ए ३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफ्गानिस्तान लगेका थिए । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नुपर्ने विमान अफ्गानिस्तानको कान्दाहार लगिएको थियो ।

No comments:

Post a Comment

loading...