Monday, 25 February 2019

मानवता प्रवद्र्धनका लागि अनुष्ठान


हेटौंडा, फागुन १४ । हेटौंडा–९ मा निर्माणाधीन मानवसेवा आश्रमको सहयोगार्थ हेटौंडामा मानवता प्रवद्र्धन ज्ञानविज्ञान अनुष्ठान महायज्ञ सुरु भएको छ । अशक्त, अनाथ, अपांग, असहाय र मानसिक सन्तुलन गुमाएर बेबारिसरुपमा सडकपेटी, मठमन्दिर वा पाटीपौवामा जीवन बिताइरहेकाको सहारा बनिरहेको मानवसेवा आश्रमले मानवता प्रवद्र्धन ज्ञानविज्ञान अनुष्ठान थालेको हो ।

निर्माणाधीन मानवसेवा आश्रमको भवननिर्माण स्थलमा शुरु कार्यक्रम २० गतेसम्म चल्ने जनाइएको छ । कार्यक्रमले असल, चरित्रवान, सामाजिक भावनाले मानवताप्रेमी नागरिक निर्माण गर्ने, मानवसेवा आश्रमको भवननिर्माण स्थल ९मानवीय स्मारक० लाई पूर्णता दिएर गृहप्रवेशका लागि आवश्यक सामग्री प्रवन्ध गर्ने र मानवसेवा आश्रम केन्द्रीय अक्षयकोष स्थापना गर्ने उद्धेश्य छ । कार्यक्रममा श्रीमद्भागवत गीताको मानवता प्रवद्र्धन सम्बन्धमा दार्शनिक, रहस्यमय, व्यवहारिक र जीवनोपयोगी प्रवचन, सबै धर्म र परम्पराका विशिष्ठ गुरुहरुको सामूहिक उपस्थिति र मानवता, करुणा, परोपकार, जीवन, सहअस्तित्व, भ्रातृत्वलगायत विषयमा प्रवचन हुने बताइएको छ ।

महायज्ञमा नाटक, झाँकी, भजन, गीतसंगीत, राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक प्रस्तुति, विभिन्न विधामा राष्ट्र र समाजका लागि सकारात्मक रुपान्तरणमा राष्ट्रसेवा गर्ने राष्ट्रिय व्यक्तिलाई सम्मान, विद्यार्थी र युवा समुदायलाई नैतिक शिक्षा, नशामुक्त जीवन र राष्ट्रसेवा विषयक विशिष्ठ प्रस्तुति, गोव्रति योगी सोमराजद्वारा दैनिक विहान ५ बजेदेखि ७ बजेसम्म सर्वाङ्ग योगविज्ञान प्रशिक्षण हुनेछ ।
   
११ करोड वेलपत्रद्वारा राष्ट्रशान्तिको उद्धेश्य राखी भगवान् शिवको पूजाआराधना गर्दै कार्यक्रममा सवा करोड बत्ती बालिने मानवसेवा आश्रम अध्यक्ष रामजी अधिकारीले बताए । महायज्ञ उद्घाटन गर्दै प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशलाई सडक मानवमुक्त रुपमा विकास गरिने बताए । सडक मानवमुक्त जिल्लाका रुपमा मकवानपुरलाई घोषणा गरेसँगै हरेक जिल्लामा अभियान सुरु गर्नुपर्ने भन्दै उनले अभियानले शान्तिको सन्देश फैलाउने बताए ।

मकवानपुर–२ का सांसद् विरोध खतिवडाले सबै नागरिकलाई खाना, नाना र छानाको ब्यवस्था गर्ने काम कानुनमा उल्लेख भए पनि सरकारी तवरबाट हुन नसक्दा कानुन कार्यान्वयनको सुरुवात मानवसेवा आश्रमले गरेकोमा खुशी व्यक्त गरे । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले सामाजिक दायित्वको काम गर्दै आएको बताए । अभियान अब सरकारी भइसकेको उनले स्पष्ट पारे । प्रदेश सांसद् मुनु सिग्देलले सबैको तीर्थस्थलका रुपमा मानवसेवा आश्रम अगाडि बढेको बताइन् । कार्यक्रममा हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले मानवसेवा आश्रमको सुरुदेखि नै कोठा भाडालगायतका लागि नगरपालिकाले सहयोग गरेको बताए । आश्रमका लागि अभिभावकको भूमिका खेल्न आफूहरु तयार रहेको मेयर महतले बताए ।
   
कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूहरुले व्यक्तिगतरुपमा ५० हजार र संस्थागत रुपमा एक लाख सहयोग गर्ने बताए । आध्यात्मिकता भन्दामाथि भोको पेट भएकोले यसका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताए । अर्का हास्य कलाकार हरिवंश आचार्यले संसारभर मानवसेवा आश्रमजस्तै काम गरिनुपर्ने औंल्याए । प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, आश्रम संरक्षक डा। गोबिन्द टण्डन र हेटौंडा–९ अध्यक्ष लक्ष्मण भण्डारीलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । महायज्ञ मुल समारोह समिति संयोजक पुरनबहादुर जोशीले आश्रमका लागि १० लाख रुपियाँ सहयोग गरेका छन् । अनुष्ठानका लागि समाजसेवी सिद्धीलाल श्रेष्ठले एक लाख रुपियाँ सहयोग गरेका छन् ।

कार्यक्रमअघि विहान हेटौंडाको त्रिवेणीधामबाट आश्रम भवनसम्म कलशयात्रा गरिएको थियो । मानवसेवा आश्रमको भवन निर्माणका लागि २ करोड आवश्यक पर्ने र १० करोड रुपियाँ अक्षयकोष स्थापनाका लागि महायज्ञ लगाइएको आश्रम प्रमुख अधिकारीले बताए । आश्रमको दुईतले भवन निर्माणका लागि ३ करोड खर्च भइसकेको संयोजक  अधिकारीले बताए । अनुष्ठानका लागि २५ वटा उपसमिति गठन भएका छन् । आश्रम भवनमा ५२ वटा कोठा निर्माण गरिने आयोजकले जनाएको छ । ६ वर्षअघि स्थापना भएको आश्रमले हाल ६ वटा प्रदेशका १२ जिल्लामा १४ वटा शाखा बिस्तार गरिसकेको छ । सडकमा कष्टकर जीवन बिताइरहेका, मानसिक सन्तुलन गुमाएका, असहाय, अपांगको उद्धार गरी आश्रमले सेवा गर्दै आएको छ । आश्रमले हालसम्म एक हजार ७ सय जना सहयोगापेक्षीलाई उद्धार गरेको जनाइएको छ । देशभरका विभिन्न आश्रममा गरी ७ सय ५० जनाले आश्रय लिइरहेका छन् ।

No comments:

Post a Comment

loading...