Sunday, 24 February 2019

प्रदेशका २० विद्यालयमा पुगे नर्स

  
हेटौंडा, फागुन १३ । ‘एक विद्यालय–एक नर्स’ कार्यक्रमअन्तर्गत् प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका २० विद्यालयमा नर्स खटाएको छ । बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरुलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याएको हो । १३ जिल्लाका २० विद्यालयमा नर्स राखिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन गैरेले नेपालको इतिहासमा पहिलोपटक सामुदायिक विद्यालयमा यस्तो सेवा सुरु भएको बताइन् । विद्यालयमा नर्सले किशोरकिशोरीलाई प्रजनन्, परिवार नियोजन, महिनावारि स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने गर्छन् ।

व्यक्तिगत, वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थ्यकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने उनीहरुको जिम्मेवारी हुन्छ । स्वास्थ्य जटिल भए थप उपचारका लागि अन्यत्र पठाउनुपरे स्वास्थ्य संस्थासँग समन्वय गरिदिनुपर्छ । नर्सले अखाद्य वस्तु जंक फुड प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धुमपान, मद्यपान र सूर्तीजन्य पदार्थ  दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । मन्त्रालयले कार्यक्रमका लागि आवद्ध भएका १९ जना नर्सलाई ललितपुरस्थित पाटन अस्पतालमा तीन दिनको सेवाप्रवेश तालिम प्रदान गरी उनीहरुलाई कार्यक्षेत्र अर्थात् विद्यालयमा पठाइएको हो । नीति तथा कार्यक्रममा २० जना नर्सलाई कार्यक्रममा आवद्ध गराइएको छ ।

मन्त्रालयकी कार्यक्रम संयोजक तथा पब्लिक हेल्थनर्स मिलन घिमिरेका अनुसार नर्सहरुलाई ३ नम्बर प्रदेशअन्तर्गत् जिल्लामा खटाइएको छ । काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नुवाकोट र धादिङका विभिन्न विद्यालयमा दुई÷दुई जना, सिन्धुली, दोलखा, रसुवा, रामेछाप, काभ्रे तथा भक्तपुरमा एक÷एक जना नर्स पठाइएको छ । चालु आर्थिक वर्षमा छनौट भएका विद्यालयमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुली स्थित जनज्योति मावि फोस्रेटार, रसुवा स्थित कालिका हिमालयन मावि कालिकास्थान, रामेछापस्थित मन्थली मावि मन्थली, नुवाकोटस्थित विन्दुकेशर मावि, तुक्सार ९मेघान० र त्रिभुवन मावि त्रिशुली छन् ।

मकवानपुरको महेन्द्र मावि बकैया, आधुनिक मावि हेटांैडा, ललितपुरको आदर्शसोल मावि, त्रिपद्म विद्याश्रम मावि, पार्वती मावि ढुंगखर्क काभ्रेपलाञ्चोक, काठमाडौं स्थित जनसेवा मावि, पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि भरतपुर, दुर्गाशेषकान्त अधिकारी मावि भरतपुर, धादिङस्थित निलकण्ठ मावि धादिङबेसी, मावि बेनिघाट र बागीश्वरी मावि भक्तपुर छनौट भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा एक हजार ३ सय ४१ सामुदायिक माध्यमिक विद्यालय छन् । कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा हेरिएको छ । कार्यक्रम प्रभावकारी देखिए आगामी वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले थप विद्यालयमा लागु गर्दै लैजाने योजना बनाइएको छ ।

मन्त्रालयले कार्यक्रमका लागि एक करोड विनियोजन गरे पनि बजेट अपुग हुने देखिएको बताइएको छ । ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको महत्वाकांक्षी स्वास्थ्य कार्यक्रम  अन्तर्गत् यस कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

loading...