Sunday, 30 September 2018

पेट्रोलियम पाइपलाइन हेटौंडा हुँदै

News
हेटौंडा असोज १४ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन थप ६१ किलोमिटर विस्तार गर्ने विषयमा भारत सकारात्मक देखिएको छ । शुक्रबार भएको नेपाल–भारत मन्त्रिस्तरीय छलफलमा भारतको मोतिहारीदेखि मकवानपुरहुँदै चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा भारत सकारात्मक देखिएको हो । मोतिहारीदेखि अमलेखगञ्ज सम्म हाल विस्तार रहेको पाइपलाइन– लाई चितवनसम्म ल्याउन छलफल भएको हो । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा छलफल हुँदा भारतीय मन्त्रीले प्रँविधिक एवम् व्यबस्थापकीय सहयोग गर्न तयार रहेको भन्दै अगाडि बढ्न आग्रह गरेको बताइएको छ ।
   
रक्सौलदेखि चितवनको भण्डारा (निगमले भर्खर जग्गा किनेको स्थान) सम्म थप ६१ किलोमिटर पाइपलाइन निर्माणका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणका बेला औपचारिक आग्रह गरिएको थियो । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्न विस्तृत अध्ययन गरी परियोजना निर्माण गर्नको लागि सम्भव रहेको प्रतिवेदन बुझाइएको छ । इण्डियन आयल कर्पोरेसन(आईओसी)ले पयिोजनको विस्तृत सर्वेक्षण गरेको थियो ।
   
नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण अनुगमन तथा थप विस्तारलगायत विषयमा छलफल गर्न भारतीय पेट्रोलियम मन्त्री प्रधान शुक्रबार काठमाडौं गएका हुन् । मन्त्री प्रधानले शनिबार परियोजनाको स्थलगत भ्रमण गरेका छन् । परियोजनाको मोतिहारी–रक्सौल र रक्सौल–अमलेखगञ्ज पाइप बिच्छ्याउने र पूर्वाधार विस्तारको काम दुवैतर्फबाट भइरहेको छ । भारतले पटनादेखि मोतिहारीसम्म साढे ३३ किलोमिटर र मोतीहारीदेखि रक्सौल ४३ किलो मिटर र रक्सौलदेखि अमलेखगञ्ज ३६ दशमलव २ किलोमिटर निर्माण भइरहेको छ । नेपालतर्फ १७ किलो मिटर पाइप बिच्छ्याउने काम पूरा भइसकेको निगमले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकमा ढिलाइ हु“दा विस्तारमा ढिलो भएको निगमले जनाएको छ ।
   
कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो । त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ । यसमा ७५ प्रतिशत लगानी आईओसी र २५ प्रतिशत लगानी नेपाल आयल निगमले गरेको छ । पाइपलाइनबाट प्रतिघण्टा १ सय ९१ किलोलिटर पेट्रोलियम रक्सौलबाट अमलेखगञ्जसम्म आउने छ । त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिच्छ्याइने १० दशमलव ७ इञ्च मोटाइको मायल स्टिल पाइपलाइन भारतको मोतिहारीबाट नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा पु-याएर जोडिने छ ।
   
निगमले त्रिभुवन राजपथ स्थित पथलैया–बीरगञ्ज औद्योगिक करिडोरमा निर्माणाधीन ६ लेन सडकसँगै पाइपलाइन विस्तारको काम पनि अघि बढाएको छ । पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक ३६ करोड रुपियाँ बचत हुने बताइएको छ । हाल रक्सौल–अमलेखगञ्ज रुटमा सञ्चालित २ सय ट्यांकरमा वार्षिक ढुवानी खर्च ६० करोड रुपियाँभन्दा बढी छ ।

No comments:

Post a Comment

loading...