Wednesday, 8 August 2018

‘कानुनविपरीत रुट परिवर्तन’, गाउँपालिकाको प्रस्ताव अस्वीकार

News
 हेटौंडा, साउन २४ । इन्द्रसरोवर गाउँपालिका र जिल्ला समन्वय समितिको बैठक सहमतिबिना टुंगिएको छ । मंगलबार गाउँपालिकास्थित फाखेल, कुलेखानी, हुमाने र फर्पिङको बाटो रुटपरमिटका विषयमा बसेको बैठक सहमतिबिना टुंगिएको गाउँपालिका–४ का अध्यक्ष धनवीर स्यांतानले बताए । वैशाख ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गाउँपालिकालाई अस्थायी रुटपरमिट तोक्न पत्र पठाएको थियो र जेठ २८ मा मन्त्रालयले स्थायी परमिट तोक्न पत्र पठाएपछि गाउ“पालिकाले सोहीअनुसार काम गरेको थियो ।

जेठ १८ गते भौतिक विकास पूर्वाधार तथा यातायात मन्त्रालयले गाउँपालिकालाई सडक स्थायी परमिट तोक्न पत्र पठाएको र उक्त पत्रमा भएका कुरा नारायणी यातायात व्यवस्था सेवा कार्यालयलाई समेत जानकारी गराइएको थियो । गाउँपालिकाका अनुसार यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको साउन १० र १४ गतेको निर्णयबमोजिम भनी १७ गते विभिन्न यात्रुबाहक सुमोले रुट इजाजत प्राप्त गरी सञ्चालनमा आइरहेका थियो । अन्य सवारीसाधनको रुट इजाजत लिने प्रक्रियामा रहिरहेकै समयमा कानुनविपरीत यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले विभागले जारी गरेको रुट कानुन सम्मत् नभएको भनी उक्त रुट परिवर्तन गरिएको व्यहोरा उल्लेख गरी आफंैले साउन १० गते र १४ गते जारी गरेको रुट इजाजत रद्ध गर्ने र थप रुट इजाजत नदिने भनी १७ गते गाउँपालिकालाई जानकारी गराएको थियो ।

यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको रुट इजाजत रद्ध गर्ने र थप इजाजत नदिने गैरकानुनी निर्णय तत्काल खारेज गरी यातायात व्यवथा विभागको १८ गतेको निर्णय बमोजिम रुट इजाजत कायम राख्न गाउँपालिकाले समन्वय समितिसँग बैठक बसेको थियो । परमिटको अवधि तीन महिनामात्र हुने भएकाले साउन ५ गते गाउँपालिकालाई मन्त्रालयले दिएको परमिट अवधि सकिएको स्यांतानले बताए । त्यसपश्चात् मन्त्रालयले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई परमिट नतोक्न पत्र पठाएपछि उक्त पत्रकै आधारमा गँउँपालिका प्रहरी चौकीले परमिट रोक लगाएको उनले बताए ।
  
गाउँपालिकाले हालसम्म हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने ६३ वटा सुमोको परमिट तोकेको थियो । तर, यस कार्य रोकिएपछि परमिट जस्ताको त्यस्तै कायम हुनुपर्ने  र बेलुका ८ बजेदेखि र विहान ५ बजेसम्म गाडी नचलाउने निर्णय गरेपश्चात् गाउँपालिकामा स्थानीयले उजुरी हाले । सोहीअनुसार बैठक बसेको स्यांतानको भनाइ छ ।  गाउँपालिकामा उत्पादन भएको तरकारी समयमै ल्याउन नपाउने गरी किसानलाई मारमा पारी दिउँसो चल्ने तरकारी बोक्ने गाडीहरु रोक लगाइएको स्थानीयको भनाइ छ । गाउँपालिकाका जनप्रतिनिधि उजुरीपश्चात् जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख वुद्धिराज गुरुङ र गाउँपालिका प्रमुख जीवन लामाको उपस्थितिमा बैठक बसेको थियो ।
  
बैठकले गाउँपालिकाको सबै प्रस्ताव अस्वीकार गरेको स्यांतानले गुनासो गरे । बैठकको निर्णयले स्थानीयको माग पूरा नभएको भन्दै आन्दोलनमा जाने सम्भावना बढेको स्यांतानले प्रतिक्रिया दिए । काठमाडौं–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकलाई स्थायी बाटो कायम गर्ने अनुमति दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले सडकलाई स्थायी बाटो कायम गर्न अनुमति दिएको हो । यसअघि उक्त सडकखण्ड बाट अस्थायीरुपमा सवारी साधन  सञ्चालनमा थिए । केही निजी सवारी मात्र सञ्चालनमा आउँथे । इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी लगायतका सरोकारवालाले उक्त बाटोलाई स्थायी सडक कायम गरी भाडादर निर्धारण गर्न निबेदन दिएका थिए । उक्त निबेदनउपर विभागले जेठ १८ गते बाटोलाई स्थायी कायम गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

No comments:

Post a Comment

loading...