Thursday, 2 August 2018

सरकारी भवनमा गैससको रजाइँ

News
 हेटौंडा, साउन १८ । गैरसरकारी संस्थाहरुको गतिविधिलाई सरकारले पछिल्लो समय राम्ररी नियालिरहे पनि मकवानपुरमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफ्नो परियोजना सञ्चालनका लागि सरकारी कार्यालय भवन नै निर्वाध प्रयोग गर्दै आएको पाइएको छ । उक्त गैससले शिक्षा, स्वास्थ्यका सरकारी कार्यालय प्रयोग गर्ने गरेको छ । जनस्वास्थ्य कार्यालय भवनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईपास नेपालले भवन प्रयोग गरेको पाइएको हो ।



प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उपमहानगर मेयर हरिबहादुर महतलगायत टोलीले बुधबार हेटौंडा अस्पताल भवन निर्माणस्थल निरीक्षणका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई वटा गैससले परियोजना सञ्चालन गर्दै आएको देखिएको थियो । संघीय संरचनाअनुसार जिल्ला जनस्वास्थ्य स्थानीय तहमा गएपछि हाल जनस्वास्थ्य कर्मचारी स्थानीय तहमा समायोजन भइरहेका छन् । हेटौंडा अस्पतालको पुरानो भवन भत्काउने तयारीमा रहेको अवस्थामा अस्पतालको स्टोर जनस्वास्थ्य भवनमा राख्न सकिने सुझाव आएको थियो ।

तर, जनस्वास्थ्यका कर्मचारीले कार्यालयमा स्थान नभएको बताएपछि मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीको टोली जनस्वास्थ्य भवनमा पुगेको हो । सरकारी भवन गैससले प्रयोग गरेको पाइएपछि सामाजिक विकास मन्त्री दुलालले छानबिन गर्ने बताए । नेपाल सरकारसँग स्वीकृति लिए/नलिएको यकिन गरी स्वीकृति नलिए कारबाही गरी तुरुन्त कार्यालय खालि गरिने मन्त्री दुलालले अनुगमनका क्रममा बताएका थिए ।

No comments:

Post a Comment

loading...