Saturday, 9 March 2019

सिमेन्टका खानीमा जथाभावी उत्खनन्ः चार गाउँपालिका प्रभावित


हेटौंडा, फागुन २६ । हेटौंडामा सञ्चालित ठूला तीन सिमेन्ट उद्योगका खानीका कारण हजारौं परिवारले समस्या भोग्दै आएका छन् । हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योग, चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग र हेटौंडाको लामसुरेमा रहेको हेटौंडा सिमेन्ट उद्योगले आफ्ना खानीहरु जथाभावी रुपमा उत्खनन् गर्दा स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । उद्योगलाई चाहिने कच्चापदार्थ चुनढुंगा खानीमा उत्खनन् गर्दा बिनाप्राविधिक एक्साभेटर चालकलाई नै ‘इञ्जिनियर’ बनाएर जथाभावीरुपमा खानी उत्खनन् गर्दा स्थानीय त्रासमा बस्न बाध्य भएका हुन् ।
   
शिवम् सिमेन्ट उद्योगले गढी गाउँपालिकाको सुकौरा र बुढीचौरमा खानी सञ्चालन गरेको छ । चुरियामाईमा भर्खर सञ्चालनमा आएको रिद्धिसिद्धी सिमेन्ट उद्योगले भीमफेदी गाउँपालिकाको भैंसे र कैलाश गाउँपालिका–४ को लिच्चे डाँडामा रहेको खानीबाट चुनढुंगा उत्खनन् गरेर ल्याउने गरेको छ । हेटौंडा सिमेन्ट उद्योगले गढी गाउँपालिका–५ को मजुवाखानी र भीमफेदीको भैंसे खानीबाट चुनढुंगा उत्खनन् गरेर ल्याउने गरेको छ । सबै उद्योगका खानी व्यवस्थितरुपमा सञ्चालन नहुँदा स्थानीयका समस्यैसमस्या आफूकहाँ आउने गरेको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल बताउँछन् ।

तीन वटै उद्योगको खानीका कारण मकवानपुरगढी, भीमफेदी, कैलाश, राक्सिराङ गाउँपालिकाका हजारौं परिवार प्रत्यक्षरुपमा प्रभावित भएका छन् । शिवम् र हेटौंडा सिमेन्ट उद्योगको खानीका कारण हेटौंडा उपमहानगरका वासिन्दालाई वर्षामा समस्या पर्ने देखिन्छ । तीन वटै उद्योगले खानी विभागसँगको सम्झौता पालना नगर्दा स्थानीय समस्या बेहोर्न बाध्य भएको पीडितको गुनासो छ । तीन वटै सिमेन्ट उद्योगले ठूला उद्योग सञ्चालन गर्ने र खानी उत्खनन् गर्दा जथाभावीरुपमा उत्खनन् गरेका कारण स्थानीयहरु वर्षौ अघिदेखि समस्या भोग्दै आएका छन् । खानीकै समस्याका कारण हजारांै परिवार प्रभावित हुने भएपछि हेटौंडा सिमेन्ट उद्योगको मजुवा खानी अनुगमन गरिएको, शिवम् सिमेन्ट उद्योगको खानीका कारण सुकौराको बस्ती जोखिममा परेको गुनासो आएपछि दुवै उद्योगलाई सचेत गराइएको खुलालले बताए ।

चुरियामाईमा सञ्चालनमा आएको रिद्धिसिद्धी सिमेन्ट उद्योगले गुरा“स सिमेन्ट उद्योगको खानी कैलाशको लिक्चेबाट चुनढुंगा उत्खनन् गर्दा त्यस क्षेत्रका धेरै परिवार प्रभावित हुने गरेको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए । खानीवरपर प्रभावमा पारेको उनको भनाइ छ । रिद्धिसिद्धी सिमेन्ट उद्योगको आफ्नै खानी राक्सिराङ–४ गिङ्गुमा छ । खानीसम्म उद्योगले सडक पुर्यायो तर स्थानीयलाई खानीका कारण प्रभाव  पर्ने भएपछि खानी उत्खनन् गर्न दिइएको छैन । जथाभावीरुपमा खानी उत्खनन् गर्दा गत वर्ष हाल गाउँपालिका भएको स्थान परको खोलामा पहिरो लडेर छेक्दा समस्या भएको र यस वर्ष पनि समस्या हुने अध्यक्ष मोक्तानले बताए ।

अर्बौ लगानीमा उद्योग खुल्ने तर आफूलाई चाहिने मुख्य कच्चापदार्थ चुनढुंगा खानी उत्खनन्मा शिवम, रिद्धिसिद्धी र हेटांैैडा सिमेन्ट उद्योगले चासो दिएका छैनन् । खानी प्रभावित क्षेत्रमा धेरै कराउनेलाई जागिर दिने, युवालाई अनावश्यक ‘भत्ता’ दिने तर खानी विभागसँग सम्झौता गरेअनुसार उत्खनन्मा चासो नदिइएका कारण तीन वटै उद्योगको खानी क्षेत्रका वासिन्दा प्रभावित बनेका छन् । वर्षा लाग्ने बित्तिकै घर छोडेर भाग्नुपर्ने वाध्यता भएको मकवानपुरगढी गाउँपालिका–५, ज्यामिरेका भरतप्रसाद फुयाँल बताउँछन् । खानीमा चुनढुंगा उत्खनन् गर्दा ५ प्रतिशत चुनढुंगा निकाल्न ९५ प्रतिशत अन्य ढुंगा, गिट्टी, माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ । तर, त्यसलाई तीन वटै सिमेन्ट उद्योगले जथाभावीरुपमा फाल्दै आएका छन् । खानी प्रभावित वासिन्दाको गुनासो एउटा उद्योग क्षेत्रको मिलायो, अर्कोको सुरु हुने, अर्कोको मिलायो फेरिको अर्कोमा समस्या देखापर्ने गरेको समन्वय समिति प्रमुख खुलाल बताउ“छन् ।
   
उद्योगका खानीका कारण हजारौं परिवार प्रभावित भए पनि उद्योगी भने यस्ता कुरा स्वीकार गर्न चाहँदैनन् । हेटौंडा सिमेन्ट उद्योग प्रवन्धक प्रेमशंकर सिंह आफूहरुले तोकिएको क्षेत्रमा मात्र उत्खनन् गरेर चुनढुंगा ल्याएको दाबी गर्छन् । गाउँलेलाई प्रभावित पार्ने काम उद्योगबाट नभएको दाबी उनको छ । खानी क्षेत्रमा अनुगमनका क्रममा ओभरबटम व्यवस्थापन नभएको, जथाभावीरुपमा खनिएको, बस्तीलाई प्रभावित पार्ने स्थानमा खनेको भन्दै हेटौंडा सिमेन्ट उद्योग र चुनढुंगा उत्खनन् गर्ने ठेक्का पाएको ओमसाई कन्स्ट्रक्सनलाई सचेत गराइएको र नियम पालना नगरे खानी बन्द गरिने समन्वय समितिका प्रमुख खुलालको दाबी छ । शिवम् मिसेन्ट उद्योगले गढी गाउँपालिकाको सुकौरा, बुढीचौर र आमभञ्ज्याङका वासिन्दासँग खानी व्यवस्थितरुपमा सञ्चालन गर्ने भनेर धेरैपटक लिखित सहमति गरेको तर कार्यान्वयन भने नगरेको स्थानीयको गुनासो छ ।

निजी उद्योगले अर्बांै नाफा कमाउने तर निजी स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर विस्थापित गर्न लागिएको भन्दै विरोध गरिएको स्थानीयले बताएका छन् । उद्योगलाई कडाइ गनुपर्ने सरकारी निकाय, स्थानीय प्रशासन यस विषयमा चुप बस्दा समस्या अझ बढेको छ ।

No comments:

Post a Comment

loading...