Monday, 11 February 2019

‘पार्टीमातहत सरकार चल्नुपर्छ’–नेता नेपाल


हेटौंडा, माघ २८ । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधबकुमार नेपालले पार्टीमातहत सरकार चल्नुपर्ने बताएका छन् । हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता नेपालले एक व्यक्तिको आफ्नै तरिकाबाट भन्दा पनि पार्टीको निर्देशनमा सरकार चल्नुपर्ने बताए । अब दुई पार्टीको एकीकरण तल्लो तहसम्म हुनुपर्ने बताउँदै नेता नेपालले भने–अब व्यक्ति–व्यक्तिको एकीकरण भन्दा पनि दुई पार्टीबीच एकीकरण प्रदेश, जिल्ला, स्थानीय तह हुँदै सबभन्दा तल्लो तहसम्म एकीकरण हुनुपर्छ । एकीकरणको काममा निकै ढिलाइ भएको छ ।

अब सरकारले योग्य व्यक्तिलाई सरकारको र यसका विभिन्न निकायमा जिम्मा दिनुपर्ने उनले बताए । पछिल्लो समय जनतामा असन्तुष्टि बढेकाले उनीहरुका असन्तुष्टिलाई पनि सरकारले सुनेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । कुनै त्रुटि वा कमजोरी भए सच्चिएर अगाडि बढ्नुपर्ने भन्दै उनले पार्टी एकीकरण कार्यदलको बैठक बसेर पार्टी एकताको काम छिट्टै टुंग्याउनुपर्ने नेता नेपालले बताए । उनले पार्टीभित्र छलफल र समिक्षा धेरै भए जुनसुकै कुराको पनि निकास निस्कने आशा राख्दै संगठन बनाउन धेरै ढिलाइ भएकोमा असन्तुष्टि पोखे ।

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता नेपालले नेकपाले राम्रो ढंगले संगठन सञ्चालन  गर्न पार्टीका तल्लो तहसम्म एकीकरण हुनुपर्ने बताए । पार्टीमा सानो कमिटी भए छरितो हुने भन्दै सानो कमिटीका लागि उनले पार्टीका नेताहरुले कुरा गर्नुपर्ने बताए । सरकारप्रतिको असन्तुष्टि सरकारको नेतृत्वले सुन्नुपर्ने भन्दै सबै आफूले मात्र ठीक गरेको भन्ने तर्क गर्नुनहुने बताए । ‘पार्टी एकीकरणमा कसैको गोजीबाट प्रदेश, जिल्ला र स्थानीय कमिटीको नाम निकाल्नु भन्दा पनि संगठनको पद्धतिअनुसार काम गर्नुपर्छ,’ उनले भने । कसैको कमीकमजोरी सच्चिएर अगाडि बढ्नुको बिकल्प
नरहेको उनले बताए ।
  
उनले भने–संगठन निर्माण ढिला हुँदा काममा समस्या भएको छ । सबै तहको संगठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता हो । तर, संगठन निर्माणको नाममा गोजीबाट निकालेका व्यक्तिलाई नेतृत्व भने दिन सकिँदैन । नेता नेपालले पार्टीलाई चुस्त बनाउन संगठनको काम निकै ढिला भएकोले सचिवालय बैठक नियमित बस्न नसक्नु दुखद् रहेको बताए ।

सरकारमा केही कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर अघि बढनुपर्ने भन्दै नेता नेपालले सरकारका कमजोरीका विषयमा सचिवालयस्तरमा गम्भीर छलफल हुने बताए । तीन तहको सरकारले सुशासनमा जोड दिनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार नियन्त्रण तथा विकासका कामलाई प्राथमिकता दिनुपर्ने बताए । नेता नेपालले नेपाली काँग्रेस ‘फ्रस्टेसन’ को शिकार भएको बताए । ‘लामो समय सत्तामा बसेको पार्टी बाहिर हुँदा फ्रस्टेसनमा छ,’ उनले भने । नेपाली काँग्रेसले भ्रष्टाचार न्यूनीकरण, सामाजिक कुरीतिका विषयमा विरोध गर्नु राम्रो भए पनि बिनाकारण माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उनको भनाइ छ । आफ्ना नेताले भ्रष्टाचार गर्दा चुप बस्ने अनि अरुको सानो गल्ती खोज्दै हिँड्ने प्रवृत्ति ठीक नभएको उनको दाबी छ ।

नेता नेपालले पार्टीको आन्तरिक कलह चर्काउने काम गर्न नहुने बताए । भेनेजुएला प्रकरणका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डको विज्ञप्तिबारे पत्रिकाबाट थाहा पाएको उनले बताए । केपी ओली नेतृत्वको वर्तमान सरकार यतिखेर भेनेजुएला प्रकरणलगायत अन्तर्राष्ट्रिय प्रकरणमा विवादित देखिएको छ । तराईमा केही समूहले उठाएको आन्दोलनका विषयमा नेता नेपालले नेपालको अखण्डतामाथि कसैले धावा बोले सरकारले कारबाही गर्नुपर्ने बताए । राष्ट्रविरुद्धमा बोल्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।

नेता नेपालले हेटौंडालाई प्रदेश–३ को राजधानी बनाउने विषयमा आफू नबोल्ने बताए । नेपालले हेटौंडालाई राजधानी बनाउने विषयमा आफूले बोलेर कुनै अर्थ नरहने बताउँदै राजधानी बनाउने अधिकार अन्तै भएको बताएका थिए । प्रदेश–३ को प्रदेशसभालाई नै
राजधानी कहाँ राख्ने भन्ने विषयमा पूर्णअधिकार भएको भन्दै आफूले नबोल्ने बताएका हुन् । ‘हेटौंडा आयो भने यहीं राजधानी हुन्छ भन्ने, काठमाडौं गए त्यहीं हुन्छ भन्ने, अनि बनेपा गए त्यहीं राजधानी हुन्छ भन्ने काम म गर्दिनँ,’ पूर्वप्रधानमन्त्री नेपालले भने–राजधानी कहाँ राख्ने प्रदेशसभालाई अधिकार छ । मैले बोलेर हुँदैन ।
राजधानीको विषयमा उचित कहाँ हुन्छ, त्यहीं राख्न राम्रो हुने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले एक मधेश–एक प्रदेश वा मधेशलाई छुट्टै बनाउने कुरा कुनै पनि नेपालीलाई स्वीकार्य नहुने बताए । सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न नसक्ने भन्दै उनले मधेशमा हाल कुनै प्रकारको विभेद नरहेको दाबी गरे । न्युज क्लब नेपाल अध्यक्ष धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेताहरुको सहभागिता थियो ।


No comments:

Post a Comment

loading...