Tuesday, 31 July 2018

मकवापनुरमा बाघको सन्त्रास बढ्दै

News

हेटौंडा, साउन १६ । मकवानपुरमा बाघको सन्त्रास जारी छ । पछिल्लो पटक मनहरी गाउ“पालिका–६ स्थित डिपाड सामुदायिक बन उपभोक्ता समूहमा बाघ देखा परेपछि स्थानीयमा त्रास देखिएको हो । स्थानीयहरु साँझ परे पछि बाहिर निस्कनै छाडेका छन् ।

डिपाड निवासी कुलमान डिम्डुङको जंगलमा चराउन लगिएको बाख्रा बाघले खाइदिएको छ । नजिक रहेको जंगलमा बाख्रा चराउन लगिएकामा दुई वटालाई बाघले आक्रमण गरी खाएको र अन्य केही बाख्राहरु हराइरहेका छन् । स्थानीय डिपाड सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष दीपक मोक्तानले घाँसदाउरा गर्न जानेहरुले पनि बाघ देखिएको बताउने गरेको उल्लेख गर्दै घा“सदाउरा गर्न जंगल जाँदा सतर्क हुन उपभोक्तालाई आग्रह गरे । राप्ती नदीपारि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघ सामुदायिक बनमा प्रवेश गरेको अनुमान छ । वर्षायाममा हरियाली र झाडी वृद्धि भएसँगै बाघलाई लुक्न र शिकार गर्न सजिलो हुने भएकाले राप्ती नदी र राजमार्ग पार गरेर सामुदायिक बन क्षेत्रमा प्रवेश गर्ने गरेको पाइएको छ ।
   
तीन महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएपछि सन्त्रास फैलिएको थियो । आक्रमण गर्ने बाघलाई समातेर चितवन राष्ट्रिय निकुञ्ज लगिएको केही दिनमै फेरि मनहरी–९ मा अर्काे बाघ देखा परेको थियो । उक्त बाघलाई समातेर चितवन पठाइए पनि मृत घोषित भएको थियो । जंगलमा रमाउने बाघ बेलाबेलामा मानवबस्तीमा पस्ने गर्दा मानवीयसँगै पशु चौपाया क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७०/०७१ मा चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

आव २०६८/०६९ मा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने दुई जना सख्त घाइते भएको सरकारी तथ्यांक छ । बाघ बेलाबेलामा मानववस्तीमा पसेर घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको छ । कतिपय अवस्थामा बाघको बासस्थानमा बलियो बाघले प्रभुत्व जमाउने हँदा कमजोर बाघ त्यहाँबाट विस्थापित भएर निकुञ्जबाट गाउँ प्रवेश गर्ने गरेको छ । जंगलमा आफ्नो क्षेत्र ओगट्न नसक्ने बुढो, कमजोर र अर्धवयस्क बाघ जंगलबाहिर निस्कन बाध्य हुने र शिकारका लागि घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको छ ।

बाघको संख्या बढ्दै गए मनहरी क्षेत्रमा बाघको आक्रमणका घटना बढ्नसक्ने भन्दै निकुञ्जआसपासका स्थानीय चिन्तित छन् । सरकारी बाघ संरक्षण रणनीतिमा बाघ–मानवबीच द्वन्द्व न्यूनीकरण गर्ने प्रभावकारी उपायमा ध्यान दिनु आवश्यक रहेको प्रभावित क्षेत्रका स्थानीयको सुझाव छ । मनहरी–७, रमौली बगरमा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको थियो । स्थानीय ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको थियो ।
                                                                                                               #हेटौंडा सन्देशबाट

No comments:

Post a Comment

loading...