Saturday, 4 August 2018

पूरा भएन काठमाडौं-हेटौंडा सवारी गुडाउने लक्ष्य

News
हेटौंडा, साउन १९ । कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इञ्जिनियर नरेन्द्र भट्टले जानकारी दिए । ‘लगभग सम्पूर्ण काम अन्तिम अवस्थामा पु-याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नु परेको हो,’ इञ्जिनियर भट्टको दाबी छ । आगामी दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उनले अघिल्लो आर्थिक वर्षभित्र काम सकी काठमाडौं–हेटौंडा सवारी गुडाउने लक्ष्य भए पनि पूरा नभएको स्वीकारे ।

छोटो दुरी भएकाले कम समयमै आउन जान सकिने हुँदा सरकारले यसलाई बैकल्पिक मार्गका रुपमा विशेष प्राथमिकता दिँदै आएको छ । स्थानीयले भने म्याद थपिए पनि अझै सडक निर्माण कार्य पूरा हुनेमा आशंका गरेका छन् । उनीहरु भन्छन्–सुक्खा पहिरो, कडा चट्टानी भूवनोट, अहिलेको ठुल्ठूला पहिरो जस्ता समस्याले यस्तो शंका उब्जाएका हो । तीनपाने भञ्ज्याङदेखि झँँक्रीडाँडा हुँदै भट्टेडाँडासम्म सुक्खा पहिरो खसिरहँदा काम प्रभावित भएको छ भने भट्टेडाँडादेखि करिब ७ किमी खण्डमा कडा चट्टान फुटाउन नसकिँदा सिंगल लेनमा सवारीसाधन गुडाउनुपरेको छ । उक्त खण्डमा रहेको कडा चट्टानको भाग फुटाउन ५ मेट्रिक टन विस्फोटक पदार्थ चाहिने बताइन्छ ।
   
कुल ९० किमी सडकखण्ड योजनाको भनिए पनि योजनाले ललितपुरको टीकाभैरव पुलदेखि हेटौंडा बुद्धचोकसम्म ७९ किमी सडक विस्तार गर्नुपर्दछ । त्यसमध्ये २० किमी कालोपत्रे भएको योजनाले जनाएको छ । साढे १७ किमी मकवानपुर र साढे २ किमी ललितपुर खण्डमा कालोपत्रे भएको छ । ६० किमी सडक खण्ड कालोपत्रे गर्ने तयारीमा रहेको इञ्जिनियर भट्टले बताए । सरकारले यस योजनाका लागि चालु आर्थिक वर्षमा ६० करोड बजेट छुट्याएको छ । २०१३ सालमा ट्रयाक खोलिएको मार्गमा २०७१÷०७२ देखि वहुवर्षीय ठेक्का लगाइएको थियो । बहुवर्षीय ठेक्का सुरु भएदेखि यस सडकखण्डमा हालसम्म १ अर्ब ३४ करोड ७६ लाख रुपिया खर्च भएको जनाइएको छ ।

No comments:

Post a Comment

loading...