Sunday, 29 July 2018

मर्मतमा जुटे १० प्राविधिक

News
हेटौंडा, साउन १४ । कुलेखानी-२ को जेनेरेटर मर्मत कार्य सुरु भएको छ । नेपाली प्राविधिक र जापानी प्राविधिकले मर्मत सुरु गरेका हुन् । जापानी फुजी कम्पनीका चारसहित १० प्राविधिक मर्मतमा जुटेका छन् ।
फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिकले बिग्रिएको जेनेरेटर निरीक्षण गरेपछि काम थालिएको हो । उनीहरुले जेनेरेटर मर्मतसम्भार गर्न १ करोड ३० 
लाख रुपियाँ लाग्ने कोटेसन विद्युत् प्राधिकरणलाई दिएका थिए । प्राधिकरणका प्राविधिकले थोरै लगानीमा आफैंले छिटो मर्मत सम्भार गर्नसक्ने बताएका थिए ।
तीन साताभित्र जेनेरेटर मर्मत सक्ने लक्ष्य छ । आयोजना प्रमुख आभास ओझाले रोटरमा भएको रिङ भाँच्चिएकाले जेठ २१ गतेदेखि १६ मेगावाट् विद्युत् उत्पादन बन्द भएको बताए । रिङ र वाइन्डिङ फेरे जेनेरेटर पुनर्संञ्चालनमा ल्याउन सकिने प्राविधिकले बताएका छन् ।
फुजी इलेक्ट्रिक कम्पनी जापानका चार प्राविधिकले जेनेरेटरका सबै पार्टपुर्जाको निरीक्षण गरेर जापान फर्किएका थिए । त्यसपछि प्राविधिकले मर्मत/सम्भारको लागत र समयबारे प्राधिकरणलाई जानकारी गराएका थिए ।
रिङ र वाइन्डिङ फेर्न जापानबाट उपकरण ल्याइएको आयोजना प्रमुख ओझाले बताए । कुलेखानी–२ को एउटा जेनेरेटर बिग्रिएकाले कुलेखानी–१ मा एउटामात्र जेनेरेटर सञ्चालनमा छ । कुलेखानी–२ को एक जेनेरेटरमा समस्या भएर सञ्चालन नहुँदा पहिलोको २ वटै जेनेरेटर सञ्चालन गर्दा पानी खेर जाने भएकाले एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको हो ।
एउटा युनिट बन्द भएको अवस्थामा पहिलो ६० मेगावाट्मा चलाउँदा इन्द्रसरोवरको पानी खेर जाने भएकाले पहिलो ३० मेगावाट्मा मात्र सञ्चालन गरिएको छ । युनिट-२ को जेनेरेटर बिग्रिएकाले उत्पादन क्षमताको ५० प्रतिशत (४६ मेगावाट्) विद्युत् उत्पादन भइरहेको छ । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत्गृह सञ्चालन हुन्छ ।
कुलेखानी विद्युत् प्राधिकरणको ‘पावर ब्याकअप’ हो । कुलेखानीलाई अन्य विद्युत् केन्द्रजस्तो २४ सै घण्टा चलाइँदैन । विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा केन्द्रको निर्देशनअनुसार मात्र सञ्चालन 
गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाट्का दुई वटा र दोस्रोमा १६/१६ मेगावाट्का दुई वटा टर्वाइन छन् । हाल दुवै विद्युत्गृहका एउटा/एउटामात्र टर्वाइन चलाइएको प्राधिकरणले जनाएको छ ।
वर्षा लागेसँगै खोला तथा नदीमा पानीको बहाव बढेकाले नदीप्रवाहमा आधारित (रन अफ 
रिभर) जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट् उत्पादन बन्द हु“दासमेत पिक समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज भएर लोडसेडिङ गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।
                                                                                                                          -Hetauda sandesh

No comments:

Post a Comment

loading...